दफा ५२
धितोको सम्पत्ति रोक्का राख्ने वा नियन्त्रणमा लिने
(१) दायित्वको पालना नभएमा धितो लिने व्यक्तिले सुरक्षित दायित्व पूर्ण वा आंशिकरुपमा पालना गराउनको लागि धितोको सम्पत्ति रोक्का राख्न वा नियन्त्रणमा लिन प्रस्ताव गर्न सक्नेछ । (२) धितो लिने व्यक्तिले धितो दिने व्यक्ति तथा धितोको सम्पत्तिमा रहेको हकसम्बन्धी लिखित दाबी प्राप्त गरेको धितो लिने अन्य कुनै व्यक्ति समक्ष उपदफा (१) बमोजिम प्रस्ताव राख्नु पर्नेछ । (३) धितो लिने व्यक्तिले उपदफा (२) बमोजिम प्रस्तावको सूचना पाउने हक भएको व्यक्तिबाट त्यस्तो सूचना पठाइएको मितिले एक्काइस दिनभित्र लिखित दाबी विरोध प्राप्त गरेमा निजले यस परिच्छेदमा भएको व्यवस्थाबमोजिम त्यस्तो धितोको सम्पत्ति बेचबिखन गर्नु पर्नेछ । (४) उपदफा (३) बमोजिमको म्यादभित्र दाबी विरोध प्राप्त नभएमा धितो लिने व्यक्तिले उपदफा (१) बमोजिमको प्रस्ताव अनुसार धितो दिने व्यक्तिको दायित्वको भुक्तानी वा पालन गराउन धितोको सम्पत्ति रोक्का राख्न वा आफ्नो नियन्त्रणमा लिन सक्नेछ ।